
जनकपुरधाम उपमहानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत बालविकास शिक्षक तथा विद्यालय कर्मचारीले तोकिएको पारिश्रमिक उपलब्ध गराउन उपमहानगरसँग माग गरेका छन् ।
नेपाल सरकारले निर्धारण गरेको तलब जनकपुरधाम उपमहानगरपालिकाले उपलब्ध गराउन तयार नभएपछि बालविकासका शिक्षक तथा विद्यालयका कर्मचारीले आन्दोलन गर्ने निर्णय गरेका हुन् ।
संघीय सरकारले गत जेठ महिनामा ल्याएको बजेटमार्फत गत साउन महिनादेखि लागू हुनेगरी बालविकासका शिक्षक र विद्यालयका कर्मचारीको तलब वृद्धि गर्ने घोषणा गरेको थियो । सरकारको उक्त निर्णयअनुसार धनुषाको गणेशमान चारनाथ नगरपालिका, सबैला नगरपालिका, धनुषाधाम नगरपालिका, लक्ष्मीनीयाँ गाउँपालिकालगायत अधिकांश स्थानीय तहले तलब वितरण गरेका छन् ।
तर, जनकपुरधाम उपमहानगरपालिकाले तोकिएको तलब उपलब्ध गराउन आनाकानी गरेपछि आन्दोलन गर्न बाध्य भएको बालविकास शिक्षक संघर्ष समितिकी जिल्ला सह–संयोजक संजु यादवले बताइन् ।
बालविकासका शिक्षकलाई खानसम्म नपुग्ने तलब मासिक ६ हजारमा चित्त बुझाउनु पर्ने अवस्थाको अन्त्य गर्नुपर्ने र सरकारी तहबाट हुने यस्तो विभेदलाई तुरन्त सच्याउन उहाँहरुको माग रहेको यादवले बताइन् ।
सह–संयोजक यादवको अध्यक्षतामा बसेको बैठकमा जनकपुरधाम उपमहानगरपालिकामा बुझाइएको ज्ञापनपत्र अनुसार पुस ६ गतेसम्म बालविकास शिक्षक तथा विद्यालय कर्मचारीको तलब भुक्तानी नभए ७ गतेदेखि पेनडाउन गरी बिहान १० बजेदेखि ४ बजोसम्म उपमहानगरको कार्यालय अगाडि धर्ना दिने चेतावनीसमेत दिइएको छ ।
उपमहानगरपालिका भित्रका बालविकास शिक्षक र विद्यालय कर्मचारीको तलब निकासा सम्बोधन गराउन शिक्षक संघसंगठनले सकारात्मक भूमिका निर्वाह नगरे आगामी दिनमा आफूहरूले पनि असहयोग गर्ने यादवले बताइन् ।
यादवले लेखापालको मासिक तलव १८ हजार ५०० र बालविकास शिक्षक तथा कार्यालय सहयोगीको तलब १५ हजार हुनुपर्ने मागसमेत गरिन् ।शिक्षक तथा कर्मचारीहरु शान्तीपुर्ण रुपमा धर्ना दिएका छन् ।