मिति लोड़ीङ्ग हुँदैछ...

मधेस प्रदेश सरकारले ४६ अर्ब ८८ करोड ९ लाखको बजेट विनियोजन

 संवाददाता    June 15, 2022     181 जनाले पढ़िसके

न्युजडेस्क/जनकपुरधाम, असाढ १ गते
मधेस प्रदेश सरकारले अगामी आर्थिक वर्ष ०७९/८० का लागि जम्मा ४६ अर्ब ८८ करोड ९ लाख रुपैयाँको बजेट विनियोजन गरेका छन्।

प्रदेशसभाको बसेको बैठकमा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले अगामी आर्थिक वर्ष ०७९/८० को लागि ४६ अर्ब ८८ करोड ९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

प्रस्तुत बजेटमा चालुतर्फ २१ अर्ब ७६ करोड ६७ लाख रुपैयाँ अर्थात ४६.४४ प्रतिशत र पुँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख ८० हजार अर्थात् ५३.२१ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ रु.१६ करोड २४ लाख ५६ हजार रुपैयाँ अर्थात् ०.३५ प्रतिशत बजेट विनियोजन गरेको छ ।

प्रदेशको अर्थतन्त्र मूलआधार बनाएको प्रदेश सरकारले किसानहरुलाई सरल, सहज रुपमा उन्नत जातको बिउविजन, खाद्य मल र सहुलियत ऋण उपलब्ध गराउने, कृषि तथा पशु बिमा बिस्तार तथा प्रभाबकारी कार्यान्वयन, कृषि सडक निर्माण, कृषि उत्पादन संकलन केन्द्र निर्माण, कृषि उपजहरुको प्रशोधन र भण्डारण एवंम् बिक्री बितरणका लागि आवश्यक बजार समेत व्यवस्थापन गर्न २८ करोड २० लाख रुपैयाँ विनियोजन गरेको छ।

कृषि क्षेत्रको व्यवसायीकरण, यान्त्रिकीकरण, आधुनिकीकरण गर्न १७ करोड ८४ लाख निनियोजन गरेको प्रदेश सरकारले मुख्यमन्त्री किसान उत्थान कार्यक्रम मार्फत साना किसानहरुको आय बृद्धि गर्न, कृषि पैदावारहरुमा आत्मनिर्भरका लागि संस्थागत र संरचना तयार गर्न १५ करोड रुपौयाँ विनियोजन गरेको छ।

यस्तै प्रदेश कृषि ज्ञान केन्द्रहरुमा प्रयोगशाला निर्माण र सुदृढीकरणका लागि रु. सात करोड २८ लाख रुपैयाँ विनियोजन गरेको मन्त्री साहले प्रस्तुत गरेको हो।

प्रदेशलाई दुग्ध तथा मासु उत्पादनमा आत्मनिर्भर बनाउन दुग्ध तथा मासु मिसन कार्यक्रमका लागि ८ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको प्रदेश सरकारले स्थानीय तहका प्रत्येक वडामा एक/एक जना एग्रोभेटको व्यवस्था गरी परिचालन गर्न दुई करोड, कृषि विद्युतीकरण गर्न र जडान गरिएका सिंचाई मिटरको शुल्कमा ७५ प्रतिशत अनुदान प्रदान गर्न पाँच करोड, डिप ट्युवेल, स्यालो ट्युवेल तथा साना सिंचाई आयोजनाहरु सञ्चालन गर्न सात करोड २० लाख रुपैयाँ विनियोजन गरेको छ।

चुरेको संरक्षण र सम्बद्र्धनका लागि ‘चुरे जोगाउँ मधेश बचाउँ’ अभियान सञ्चालन गर्न १८ करोड १० लाख रुपैयाँ विनियोजन गरेको प्रदेश सरकारले जनकपुर, राजविराज र बिरगञ्जमा स्थानीय तहको सहकार्यमा ‘हरित शहर स्वच्छ शहर’को रुपमा विकास गर्न १५ करोड रुपैयाँ विनियोजन गरेको छ।

उद्योगहरुलाई चाहिने जनशक्ति उत्पादन गर्न निजी, गैरसरकारी संस्था, स्थानीय तहको समेत सहभागितामा मुख्यमन्त्री सीप प्रबद्र्धन तथा रोजगार कार्यक्रमका लागि २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

प्रदेशको सम्बृद्धिको मूल आधार मध्ये पर्यटन एक रहेकोले पर्यटन क्षेत्रको विकास र प्रबद्र्धनका लागि प्रादेशिक गुरुयोजना निर्माण गरिने तथा पर्यटन सम्बन्धी कार्यक्रम सञ्चालन गर्न लहान, जनकपुर र बिरगञ्जमा पर्यटन कार्यालय स्थापना गरिने प्रदेश सरकारले बजेट मार्फत घोषणा गरेको छ।

यस्तै प्रदेश सरकारले बिरामीलाई १ लाख रुपैयाँ अनुदान दिने बजेटमा व्यवस्था गरेको छ । बजेटमा प्रदेश सरकारको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानलाई निरन्तरता दिँदै कक्षा १२ मा अध्ययनरत छात्रालाई कम्प्युटर एवम् ल्यापटप वितरणका लागि ७७ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

सामाजिक रुपान्तरण तथा लैंगिक सशक्तीकरणका लागि सञ्चालित मुख्यमन्त्री ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत छोरी बिमा, छात्रवृत्ति, लोकसेवा तयारी कक्षा, साइकल वितरणलगायत छोरीमाथि समाजमा रहेको विभेद अन्त्यका लागि विभिन्न कार्यक्रमलाई निरन्तरता दिइने बजेटमा उल्लेख गरेका छन् । त्यसैगरी ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत ८ कक्षामा अध्ययनरत छात्रालाई साइकल खरिदका लागि सोझै छात्राको खातामा पैसा पठाइनेछ। सम्बन्धित विद्यालयको प्रधानाध्यापकको सिफारिसमा छात्राको खातामा उक्त अनुदान रकम हस्तान्तरण गरिनेछ।

प्रदेशका आठ वटै जिल्लाका बिभिन्न ७२ वटा सरकारी स्वास्थ्य प्रयोगशालाहरुको सुदृढीकरण तथा गुणस्तर अभिबृद्धिका लागि १२ करोड ११ लाख रुपैयाँ, सप्तरीको तिलाठी कोइलाडीमा नाक, कान घाँटी अस्पताल निर्माणका लागि ६ करोड तथा धनुषाको नगराईमा शहिद दुर्गानन्द झा बाल अस्पताल निर्माणका लागि दुई करोड रुपैयाँ विनियोजन गरिएका छन्।

प्रतिकृया दिनुहोस्
prabhu host