
न्युअजडेस्क/जनकपुरधाम, चैत २७ गते
मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले वातावरण तथा जलवायु संरक्षणमा युवाहरुको भूमिका अपरिहार्य रहेको बताएका छन् ।
क्रिएसन संस्थाले जनकपुरधाममा आयोजना गरेको वातावरण तथा जलवायु अनुकुल विकासमा नेपाली युवा कार्यक्रमको समुदघाटन गर्दै मुख्यमन्त्री राउतले वातावरण संरक्षणमा युवाहरुको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्नुभएको छ । निरन्तर चुरे क्षयीकरणका कारण मधेश प्रदेश प्राकृतिक विपदको उच्च जोखिममा रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले चुरे संरक्षणको साथै अन्य वातावरणीय संरक्षणका लागी प्रदेश सरकार सम्वेदनशिल रहेको दावी समेत गर्नु भयो ।
विभिन्न दातृ निकायहरुको सहयोगमा क्रिएशन मधेश प्रदेशबाटै कार्यक्रम शुरु गर्न लागेकोमा संस्थालाई धन्यवाद दिदै मुख्यमन्त्री राउतले प्रदेश सरकारबाट हुन सक्ने हरेक प्रकारको सहयोग गरिने प्रतिबद्धता समेत जनाउनु भयो ।
मधेशका १० वटा स्थानीयतह बाट शुरु हुन लागेको उक्त कार्यक्रम वातावरण तथा जलवायु संरक्षणमा युवाको सहभागितालाई जोड दिइएको छ । क्रिएसनका संस्थापक अध्यक्ष आानन्द मिश्रको अध्यक्षतामा भएको उक्त कार्यक्रममा राष्ट्रिय युवा परिषदका चन्द्रा थापा, युथ इन्नोभेसन ल्याबका गोमा कार्की सहितले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेको थियो ।