मिति लोड़ीङ्ग हुँदैछ...

ठाकुरले एकलौटी गरेको महताे पक्षकाे आरोप

 संवाददाता    December 18, 2021     255 जनाले पढ़िसके

न्युजडेस्क/काठमाडौं, पौष ३ गते
पार्टी गठन भएको चार महिनामै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा असन्तुष्टि बढ्न थालेको छन् । गत ९ भदौमा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विभाजित भई बनेको लोसपामा अध्यक्ष महन्थ ठाकुरको कार्यशैलीमा प्रश्न उठाउँदै असन्तुष्टि विवादको रुपमा बढन थालेको हो ।

पार्टी गठन भएलगत्तै केन्द्रीय कार्यकारिणी बैठक बसेको थियो । उक्त बैठकले ३१ सदस्यीय कार्यकारिणी समिति र दुई जना नेता राजेन्द्र महतो र शरतसिंह भण्डारीलाई वरिष्ठ नेता तोकिएको थियो । त्यसयता केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्न सकेको छैन ।

लोसपाका नेताहरूको भनाइमा नेताहरूको कार्यविभाजन गरी पार्टी संगठन विस्तारका लागि अध्यक्ष ठाकुरले पहल नै गरेका छैनन् । केही हप्ताअघि मात्रै विभिन्न १६ जिल्ला अध्यक्ष र पर्यवेक्षक नियुक्त गरियो । तर, वरिष्ठ नेता महतो, भण्डारी र नेता अनिल झासँग छलफलसमेत गरिएन । त्यसले लोसपामा विवाद बढेको हो ।

पार्टी निर्णयको विरोधमा धनुषामा विज्ञप्ति नै निकालिएको थियो । जिल्ला अध्यक्ष तोकिएको विषयमा महतो र भण्डारीले असन्तुष्टि जनाइसकेका छन् । यद्यपि, सप्तरीको जिल्ला अध्यक्षमा महतो पक्षका र सिराहामा भण्डारी पक्षका नेतालाई जिल्ला अध्यक्ष बनाइएको छ ।

अनिल झानिकट नेतालाई रौतहटको जिल्ला अध्यक्ष बनाइएको छ । यी निर्णयमा पनि उनीहरूसँग अध्यक्ष ठाकुरले छलफल नगरेको लोसपाका एक नेताको दाबी छ । ती नेताका अनुसार, १६ मध्ये १२ जिल्लामा ठाकुरले एकलौटी अध्यक्ष र पर्यवेक्षक नियुक्त गरेका हुन् ।

ठाकुरले नियुक्त गरेका जिल्ला पर्यवेक्षकको विषय पनि विवादमा छ । लोसपाको विधानमा पर्यवेक्षक भन्ने पदको व्यवस्था छैन । तर, तदर्थ समिति भएको भन्दै ठाकुरले आफूनिकट नेताहरूलाई जिम्मेवारी दिएको असन्तुष्ट पक्षको दाबी छ ।

तर, ठाकुरनिकट नेता सुरेन्द्र झाको भनाइमा अध्यक्षले अन्य नेताहरूसँगको परामर्शमा ती नियुक्ति गरेका हुन् । झाको दाबीमा तीन दिनसम्म नेताहरूबीच आन्तरिक छलफल र अनौपचारिक सहमतिपछि जिल्ला अध्यक्ष र पर्यवेक्षक नियुक्ती गरिएको हो । झाले भने, ‘केन्द्रीय कार्यकारिणी समितिले अध्यक्षलाई निर्णय गर्ने अधिकार दिएको छ । त्यही निर्णयका आधारमा नियुक्ति भएका हुन् । बाहिर हल्ला भएजस्तो असन्तुष्टि छैन । सिनियर नेताहरूले असन्तुष्टि जनाएर बोलेको सुनिएको पनि छैन ।’

ठाकुरले सर्लाही र पर्सामा एक महिनाअघि नै जिल्ला अध्यक्षको जिम्मा दिएका थिए । अन्य जिल्लाको हकमा आन्तरिक सर्कुलरमार्फत जिम्मेवारी दिइरहेका छन् ।

यता, प्रदेश २ को अध्यक्षमा जितेन्द्र सोनललाई जिम्मा दिएकोप्रति पनि लोसपामा असन्तुष्टि छ । प्रदेश २ को संसदीय दलको नेतासमेत रहेका सोनललाई ठाकुरले आफूनिकट भएकै कारण दोहोरो जिम्मेवारी दिएको आरोप छ । सोनललाई नियुक्त गर्ने सन्दर्भमा अन्य नेतासँग छलफल नभएको असन्तुष्ट पक्षको दाबी छ ।

त्यसो त, लोसपाले ४ महिनामा संसदीय दलको गठनसमेत गरेको छैन । संसदीय दलको नेतासमेत चयन नभएका कारण संसदीय बोर्ड गठन हुन सकेको छैन । अध्यक्ष ठाकुरले संसदीय दलको आन्तरिक विषयको संयोजन गर्ने जिम्मेवारी लक्ष्मणलाल कर्णलाई दिएका छन् ।

उक्त जिम्मेवारी दिएको विषयमा महतो र भण्डारीले पत्तो नै पाएका छैनन् । वरिष्ठ नेताको हैसियतबाहेक उनीहरूको कार्यविभाजन समेत भएको छैन ।

कार्यकारिणी सदस्यहरूको कार्यविभाजन नहुँदा पार्टी गतिविधिले गति लिन नसकेको नेताहरूले बताउने गरेका छन् । नेताहरूको कार्यविभाजनकै लागि पार्टीको बैठक राख्न नेताहरूले अध्यक्ष ठाकुरलाई दबाब दिँदै आएका छन् । तर, ठाकुरले टार्दै आएका छन् ।

लोसपा स्रोतका अनुसार, ठाकुरनिकट विजय सिंह, वृषेशलाललगायतका नेताहरू पनि अध्यक्ष ठाकुरको शैलीप्रति असन्तुष्ट छन् । वृषेश लालनिकट सुवास कर्णले अघिल्लो साता मात्रै तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) पार्टी गठन गरेर निर्वाचन आयोगबाट प्रमाण पत्र लिइसकेका छन् ।

प्रतिकृया दिनुहोस्
prabhu host