बलिराम कापरी/जनकपुरधाम, जेष्ठ २०
प्रदेश नम्बर २ को पर्सा जिल्ला छिपहरमाई गाउँपालिका वडा नं.-२ भिष्वा बञ्जारीबाट अवैधरूपमा कस्तुरी रक्सी भारततर्फ लगिरहेको भन्ने सूचना प्राप्त अनुसार कस्तुरी रक्सी सहित ट्याक्टर बिहीबार प्रहरीले नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटी गएको टोलीले प्रदेश २-०३-००१ थ ०००१ नम्बरको ट्याक्टर उल्लेखित स्थानको दशगजा क्षेत्रमा रोक्ने क्रममा चालक तत्काल फरार भएका छन् ।
सो ट्याक्टरको तलासी लिंदा ट्याक्टरमा कस्तुरी लेखिएको मदिरा तीन सय कार्टुन फेला परेको हुँदा सो ट्याक्टरलाई मदिरा सहित नियन्त्रणमा लिएको छ । दश लाख साठ्ठी हजार रुपैयाँ मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको छ ।
यस साथै, उल्लेखित ट्याक्टरको धनी तथा चालकको तदारूकताका साथ खोजतलास भइरहेको भने पर्सा प्रहरीले जनाएको छ ।